पूर्वी सीमा नाका कांकरभिट्टामा भन्सार कर्मचारी र जनपथ प्रहरी बिच समन्वय नहुंदा समस्या उत्पन्न भएको छ । प्रहरीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर समन्वय नगरी आफु खुसी काम गर्ने गरेको मेचि भन्सारले जनाएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी आफुहरुले काम गरिरहेको भए पनि इलाका प्रहरी कार्यालय कांकरभिट्टाले चेकजाँचमा समन्वय गर्नुको सट्टा भन्सार कर्मचारीमाथि ज्यादती गरेको भन्दै भन्सार कर्मचारीले शनिबार झण्डै १ घण्टा नाका अबरोध समेत गरेका थिए ।
प्रहरीले शनिबार दिउंसो बन्दा कोपी भारत पु¥याएर फर्किएको को १ ख ७८९८ नम्बरको ट्रक भन्सार कर्मचारीले चेकजाँच गरिरहेको अवस्थामा समन्वय नगरी इलाका प्रहरी कार्यालय कांकरभिट्टाको प्राङ्गणमा लगेको थियो । सो ट्रकमा जम्मा २ बोरा मटरको बिउ र १० केजी प्लाष्टिकको सुत्ली (डोरी) रहेको थियो ।
तर चेकजाँचमा समन्वय गर्नुको सट्टा अबरोध गरेर प्रहरीले ज्यादती गरेको भन्दै भन्सार कर्मचारीले नाकामा आवात जावत अबरोध गरेका थिए ।
भन्सार कार्यालयको कर्मचारी आवास , यात्रु शाखा, तथा कार्यालयको पूर्व पट्टिको पर्खाल भित्रको क्षेत्र, पश्चिमपट्टिको पर्खाल भित्रको क्षेत्र, यात्रु शाखा र मुल कर्मचारी आवास उत्तरपट्टिको पर्खाल भित्रको क्षेत्र र दक्षिणपट्टिको पर्खाल क्षेत्र चारकिल्ला भन्सार क्षेत्र र एशियन राजमार्गको नयां पुल नेपाल पट्टिको प्रारम्भ बिन्दुदेखि भन्सार कार्यालय प्रबेश गर्ने १ गेट हुंदै लक्ष्मी नारायण मन्दिर छेउको गेट नम्बर २ सम्म जोडिएको करीब १ किलोमिटर भन्सार क्षेत्रको बाटो भए भएकाले सो क्षेत्र भित्र भन्सार कर्मचारीले चेकजाँच गर्ने अधिकारी रहेको भन्सारको भनाई छ ।
सो क्षेत्रमा कर्मचारीले चेकजाँच गरिरहेको अवस्थामा प्रहरीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर ज्यादती गरेको भन्सारले जनाएको छ ।