झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध भएको छ । 

आज आइतबार बिहानदेखिको  लगातारको वर्षा पछि आएको बाढीका कारण अहिले साँझ पुल भासिएको हो। पुल भासिएपछि सवारी साधान आवातजावतमा रोक लगाइएको छ।

पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको छ । अहिले पानी रोकिए पनि जुनसुकै बेला पुल भत्कन सक्ने अवस्थामा पुगेको छ । २०६५ सालमा भारत सरकारको  दुई करोड सहयोगमा निमार्ण भएको पुलका कारण इलाम आवातजावत गर्ने बैकल्पिक बाटो सहज बनेको थियो।