अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध बिस्तार गर्न जापानको टोली अर्जुनधारा नगरपालिका आएको छ । जापानबाट आएको टोलीले कृषि, निर्माण, उत्पादन, बजारीकरण, सीप तथा तालिमलगायतका बिषयमा चासो राखेको छ ।
जापानका लागि नेपालका राजदुत डा.दुर्गाबहादुर क्षत्रिको नेतृत्वमा जापानको तोनो सिटीका मेयर तोशीयाकी होण्डाको प्रतिनिधि कानाको होसोकावासहितको टोली सोमवार आज०अर्जुनधारा आएको हो ।
टोलीले जापानीज प्रविधि तथा सीप नेपालमा कसरी भित्र्याउने र आर्थिक रुपमा कसरी सबल हुने भन्ने बिषयमा नगरमा अन्तरक्रिया गरेको छ ।
अर्जुनधारा नगरका मेयर बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा पूर्व राज्यमन्त्री धर्मशीला चापागाई, संविधानसभा सदस्य प्रेम गिरी, अर्जुनधारा नगरका निवर्तमान मेयर हरिकुमार रानालगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
नगर प्रमुख बलदेबले नगरलाई प्रविधिमैत्री बनाउँदै कोदोको रक्सीलाई ब्राण्डिङ र किसानलाई आयआर्जनमा जोड्न जोड दिएका छन् । उनले किसानलाई प्रविधिमैत्री बनाएर आर्थिक रुपमा सवल बनाउनु पर्ने बताए ।
जापानबाट आएको टोलीले पशुपालन, कृषि अन्तरगत नगदेबाली, धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनधारा जलेश्वरधामलगायतका क्षेत्रको आजै स्थलगत भ्रमण तथा अनुगमन गरेको छ ।