नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी शुरु गरेको छ । दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि नेपालले तयारी थालेको हो ।

प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले जिल्ला, प्रदेश र केन्द्रको छनोटबाट कुल ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा खेलाडी छनोट गरिएको हो ।

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले उमेर समूहको प्रतियोगिता प्रायोजक पाउने कठिनाई भएकाले प्रतियोगिता बिना नै खुला छनोट टिम निर्माण गर्न बाध्य भएको बताए ।

खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमवारदेखि नै प्रशिक्षण शुरु गरेका छन् । यस संस्करणको यु–१९ साफ च्याम्पियनसिपमा नेपाल समूूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपालले पाकिस्तान र माल्दिभ्सको सामना गर्नेछ ।

अर्को समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालले आगामी सेप्टेम्बर २१ मा पाकिस्तानबिरुद्ध दशरथ रंगशालामा खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर २३ मा माल्दिभ्ससँग खेल्नेछ ।।