विर्तामोड नगरपालिकाले अव्यवहारिक रुपमा कर बढाएको भन्दै बिर्तामोड उद्योग बाणिज्य संघले आपत्ती जनाएको छ ।  कर बृद्धिले  व्यवसायी मारमा परेको भन्दै संघले मंगलबार आज बिर्तामोड नगरपालिकामा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ । 

ब्यवसायीका समस्या र माग सहितको १३ औं बुंदे ध्यानाकर्षण पत्र संघले नगरका उप–प्रमुख नगेन्द्र संग्रौलालाई हस्तानतरण गरेको हो । व्यवसायिक कर कारोबारका आधारमा नभई पुँजीका आधारमा हुनुपर्ने, राजश्व कार्यालय भन्दा बढी स्थानीय तहको कर तेब्बर निर्धारण भएको भन्दै संसोधन हुनुपर्ने, व्यवसायीबाट असुल्दै आएको घर बहाल कर घरधनीले तिर्नुपर्ने, बिज्ञापन कर संसोधन गर्नुपर्ने, फोहोर

मैला ब्यवस्थित गर्नुपर्ने, पार्किङ, सार्वजनिक शौचालय, सडक बत्ती लगायतको ब्यवस्था गर्नु पर्ने, व्यबसायीलाई सुरक्षा प्रदान गर्नु पर्ने र कर संकलन गर्दा ब्यवसायीसँग गरिने ब्यबहार सुधार्नु पर्ने माग सहित संघले नगरलाई ध्यानाकर्षण पत्र बझाएको संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । 

संघको मागलाई एक साता भित्र नगरले  सम्बोधन नगरे वा संघको मागको बेवास्ता गरे चरणबद्ध आन्दोलन गरिने  संघका महासचिब अर्जुनकुमार मैनालीको भनाई छ ।  

राज्यले नै सम्पूर्ण व्यवसायीहरुलाई कर लगायतमा छुट दिएर व्यवसाय प्रवर्धन गर्नुको सट्टा चर्को कर थोपार्ने काम नगरले गरेको  संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले  बताए । 

कोरोना कहर तथा आर्थिक मन्दीका कारण थलिएको व्यवसायलाई  स्थानीय सरकारले बृद्धि गरेको करले झनै समस्या हुने उनको भनाई छ ।