एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएर गरेको दोहोर्‍याएका छन्।

कमिसन खाएर उक्त निर्णय गरेको भन्दै छानबिन हुनुपर्ने माग उठेपछि ओलीले कानुन बनाएर स्थानान्तरणका लागि निर्णय गरेको प्रतिक्रिया दिँदै आएका छन्। शनिबार गृहजिल्ला झापाको दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए। ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशियार नभएको बताए।

गिरीबन्धु चिया बगान सञ्चालक निवेदन लिएर आएपछि आफूले कानुन र नियम बनाएर निर्णय गरेको ओलीको भनाइ छ। ‘मैले कानुन बनाइदिएँ। कानुन कार्यान्वयन गर्न नियम बनाइदिएँ। उहाँहरूले आदेश मान्नुभयो। १३ वैशाख ०७८ मा सर्त राखेर भूमिसुधारले हेरेर  त्यो जमिन ठीक भयो भने वातावरणीय मूल्यांकन गरेर दिन्छ भनेँ,’ उनले भने।

 कमिसन खाएर काम गर्नलाई आफू कांग्रेस–माओवादी नभएको भन्दै ओलीले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० बिघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी गरे। ‘गिरीबन्धु टि स्टेट केपी ओलीले खायो भन्छन्। तिनीहरूले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन टी स्टेटलाई सट्टाभर्ना गर्न दिएका थिए। बसपार्क क्षेत्रको भनेको ७० बिघा गैरकानुनी ढंगले कमिसन खाएर गरेको कारोबार हो।’

कमिसन आएको भए आफू सरकारसँग तर्सिसकेको हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भ्रष्ट तत्वहरूविरुद्ध आवाज कम नगर्ने बताए। ‘यदि मैले कमिसन खान्थेँ भने यस्तो दुष्ट सरकार उसको विरुद्ध बोल्दा एउटा सांसदलाई पक्राउ पुर्जी नभई थुन्छ भने यस्तो सरकारसँग म थरथर हुन्न थिएँ होलारु मलाई मुद्दामा डुबाउँछन् कि क्या हो भनेर प्रभु मलाई बचाइदेऊ भन्दै जान्थेँ होला नि १’ ओलीले भने, ‘म यस्ता भ्रष्ट तत्वविरुद्ध आवाज कम पनि गर्दिनँ।

यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन। पञ्चायत तानाशाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन। तिनीहरूलाई लडाइयो। भारतका पाँचतारे होटेलमा बसेर ज्वाइँ पालिएझैँ पालिएर यता मान्छे मराएर क्रान्तिका गफ दिएको होइन। हामी त लडेर जेल परेर आएका हौँ।’

nayapatrika.com