भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो सो हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाले आज पत्रकार सम्मेलन गर्दै प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको सहभागिता रहने जानकारी दिएको हो ।

प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ ।

नेपालीहरुको महानपर्व दशैँ तिहार अगाडि करिव ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न लागेको हो । प्रदर्शनीमा ठूला तथा साना गरी करिव १ सय २० स्टल र ब्लक रहनेछन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ । करिव डेढ वर्ष यता भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेको नाडाले जनाएको छ ।

दुई वर्षको कोरोना महामारी र आयात प्रतिवन्धको कारण हुन नसकेको नाडा अटो सो यो वर्ष हुन लागेको हो । आर्थिक अवस्था नाजुक भएकाले सवारी साधनहरु बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको आयोजकका भनाइ छ ।