झापा : बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिंदै लगेको छ ।

 जिल्लाका विभिन्न सामुदायिक तथा नीजि विद्यालयमा  ट्राफिक सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसै क्रममा  ट्राफिक प्रहरीले शुक्रबार कचनकबल गाउंपालिका ६ स्थित श्री लक्ष्मि मा.वि.का  कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपानेले जानकारी दिए । 

कार्यालयका प्रहरी निरीक्षक न्यौपाने तथा  कार्यालयका प्रहरी नायब निरीक्षक जिवन कार्कीले  उपस्थित करिब २ सय ५० बढी  विद्यार्थीलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका हुन् । 

369721747_3435106910043598_4643197754089045564_n

 प्रशिक्षणका क्रममा उनीहरुले सो विद्यालयमा अध्ययन गर्ने किशोरकिशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । 

सो क्रममा  सूचनामूलक, चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाइएको थियो ।   करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुने गरेको बताउंदै  ट्राफिक प्रहरी  निरीक्षक न्यौपानेले यसलाई हामी आफैँले न्यूनीकरण गर्न सकिने भन्दै विद्यार्थीलाई सडक पार गर्दा ध्यान दिनु पर्ने उल्लेख गरे । 

374175696_3435106826710273_1246035041862610166_n

यो आर्थिक बर्षमा मात्र सवारी दुर्घटनामा परी झापामा ९ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ । साउनमा ५ जना र भदौ १५ सम्ममा ४ जनाको मृत्यु भएको छ । 

चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।  त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको तथ्याङमा उल्लेख छ ।  कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए ।