बिर्तामोड  : ॐकार परिवार झापाले आगामी भदौं १८ गते सोमवार झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना गर्ने जनाएको छ ।  

ॐकार परिवार झापाले आज (शुक्रवार) बिर्तामोडमा पत्रकार भेटघाट मार्फत  भड्किएको सामाजिक सद्भावप्रति चिन्ता ब्यक्त गर्दै शान्ति सद्भाव र्यालीको आयोजना गरेको जनाएको हो । 

ॐकार परिवार झापाले असंख्य व्यक्तिको उपस्थितिमा विर्तामोडमा भदौ १८ गते सोमवार बिहान ११ बजेबाट गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना गरेको जनाइएको छ । 

 साता अघि सुनसरी जिल्लाको  धरानमा गोवंश हत्या गरि सार्वजनिक रुपमा सामाजिक सन्जालमा राखेर विश्व ॐकार परिवारको आस्था माथि प्रहार गरेको निष्कर्ष निकाल्दै त्यसको बिरोधमा ॐकार परिवार झापाले बिरोध र्याली गर्न लागेको ॐकार परिवार झापाका प्रवत्ता लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए । 

 

गौ माता (गाई) विश्वकी माता र विश्व ॐकार परिवारकी आराध्य देवी भएकी  र नेपालको वर्तमान संविधानको धारा ९ को उपधारा ३ ले गाईलाई राष्ट्रीय जनावरको रूपमा संरक्षण गरेको शंकाराचार्य पिठ साधुटारको अध्यक्ष तथा ॐकार परिवार झापाका प्रवत्ता लक्ष्मीप्रसाद खतिवडाको भनाई छ । 

देशैभर गाई काटेर खान पाउनु पर्छ भनेर केही हिंस्रकले धरान उप–महानगरपालिका प्रमुख र  प्रमुख जिल्ला अधिकारी सुनसरीलाई ज्ञापनपत्र समेत बुझाएर अनादि कालदेखि धार्मिक सहिष्णुतासँग मिलेर बसेको समाजका बीच धार्मिक तथा  सामाजिक सद्भाव भड्काउने कार्यले विश्व ॐकार परिवार मर्माहत भएको पनि उनको भनाई छ । 

 पत्रकार भेटघाटमा कार्यक्रमका संयोजक नन्दकिशोर भारद्वाज, प्रसाद सुब्वा, मुस्लिम समाजका पूर्व झापा अध्यक्ष अलिअमिन सेख, बिदुसी बिन्दा बराल, पण्डीत शान्तिराम नेपाल, सोमनाथ सुवेदी, आसुतोष खनाल, अग्नि सिग्देल, डिके लामालगायतको आतिथ्यता रहेको थियो ।