एशिया कपमा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधवार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अब सरकारले भौतिक पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने बताए ।

एकै ठाउँमा अभ्यास गरिरहँदा स्तर राम्रो बनाउन नसकिने बताउँदै उनले भौतिक पूर्वाधार र खेलाडीहरुमा सरकार र निजी निकायहरुले लगानी बढाउनुपर्ने उल्लेख गरे । उनले भारत र पाकिस्तानसँगको खेलबाट खेलाडीले धेरै कुरा सिकेको पनि बताए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान आसिफ शेखले राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताए । उनले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको पनि उल्लेख गरे ।

शेखले मेडल लगाइसकेपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल आफूलाई पनि दिनुपर्छ भन्ने ठट्टा गरेको पनि बताए ।

एशिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा समर्थकहरु पनि पुगेका थिए ।