विर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले नेपालमा कृषि वस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सके मात्र वैदेशिक व्यापारघाटा कम गर्न सकिने बताएका छन् ।

शनिबार झापाको विर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको आठौ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ढकालले सहज निर्यातको संभावना भएका कृषिवस्तु पहिचान गरी राज्यले ती वस्तुको उत्पादनदेखि बजारीकरणसम्म लगानी गर्नुपर्ने र पर्याप्त मात्रामा ती वस्तु निर्यातबाट विदेशी मुद्रा आर्जन गरेर व्यापार घाटा कम गर्नुपर्ने धारणा राखे ।

375457684_6846922962017571_2208469517027050650_n

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि ढकालले नेपालको अलैंची, चिया, अदुवा, अम्लिसोजस्ता मौलिक कृषिवस्तुको उत्पादकत्व बढाउने, व्यवस्थित ढंगले तस्रो बजारसम्म निर्यातको वातावरण तयार गर्ने हो भने उल्लेख्य विदेशी मुद्रा आर्जन हुने र त्यसले व्यापारघाटा कम गर्न सहायेग पुर्याउने धारणा राखे ।

तर, सरकारले यसतर्फ खासै चासो नदिएको उनको आरोप थियो । ‘कच्चा पदार्थ आयात गर्नु नपर्ने मौलिक कृषि वस्तुको उत्पादन बढाउन ढिलो भइसकेको छ’, उनले भने– ‘संभावना बोकेका अलैंची, चिया, अदुवालगायतका मौलिक कृषिवस्तुको पर्याप्त उत्पादन र व्यवस्थित बजारीकरणमा ध्यान पुर्याउन सरकारलाई आग्रह गर्दछु ।’

पछिल्लो समय नेपाली अर्थतन्त्रको अवस्था सन्तोषजनक नदेखिएको बताउँदै ढकालले यसबाट उद्योगी–व्यवसायी ठूलो मारमा परिरहेको बताए ।

375450444_6846922895350911_7096170878354922641_n

महासंघका महासचिव नारायणप्रसाद चिमरियाले सञ्चालन गरेको साधारणसभा समारोहलाई शुभकामना व्यक्त गर्ने अधिकांश वक्ताले देशको कमजोर अर्थतन्त्र र बैंकहरुको उच्च व्याजदरका कारण उद्योगी–व्यवसायीहरु जर्जर अवस्थाबाट गुज्रिरहेको पीडा पोखेका थिए ।

नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष, संरक्षक राजेन्द्रकुमार घिमिरेले राज्यले निर्यातजन्य कृषि वस्तुको उत्पादन र बजारीकरणका लागि उल्लेखनयि काम गर्न नसकेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारलाई दवाब दिन नसकेको बताए । उनले वर्षौंदेखि आफूहरुले समस्या मात्रै राख्दै आएको तर समाधानको सुखद समाचार कहिलै सुन्न नपाएको गुनासो गरे ।

महासंघकी उपाध्यक्ष पार्वता खरेल विमलीले स्वागत गरेको समारोहमा नेपाल उदोग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा अलैंची महासंघका निवर्तमान अध्यष राजकुमार कार्की, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, केन्द्रीय सदस्य तथा निर्यात समितिका सभापति नरेशलाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा वाणिज्य समितिका सभापति सुवोध गुपता, केन्द्रीय सदस्य तथा पारवहन समितिका सभापति शिवप्रसाद घिमिरे, केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापति, भक्त हमाल, केन्द्रीय सदस्य नानिराज घिमिरे, दीपक नेपाल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण विमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा अलैंची खेती तथा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउने व्यवसायी, कृषक, महिला उद्यमी, शाखा तथा सञ्चारकर्मीलाई पुरस्कृत–सम्मानित गरिएको थियो । यस वर्ष स्व. देवीप्रसाद भट्टराई उत्कृष्ट व्यवसायी तथा आयातकर्ताको रुपमा भारत सिलिगुडीका व्यवसायी प्रभातकुमार अग्रवाल, स्व. विजय खाकी उत्कृष्ट कृषकको रुपमा भीमलाल मावोलाई सम्मान गरिएको थियो भने अलैंचीको खेर जाने बोट र सराबाट हस्तकलाका सामग्री उत्पादन गरेर देश–विदेशमा अलैंचीको पहिचान बृद्धि गर्न सहायेग पुर्याएकोमा ताप्लेजुङकी महिला उद्यमी माया गुरुङलाई सम्मान गरिएको थियो ।

यस वर्ष उत्कृष्ट शाखाको रुपमा कास्की समितिलाई सम्मान गरियो भने सञ्चारको माध्भ्यमबाट अलैंचीको प्रचार–प्रसार र अलैंची प्रवद्र्धनमा योगदान पुर्याएकामा एभिन्यूज टेलिभिजनका झापा सम्बाददाता एवम् साझा खबर अनलाइनका सम्पादक सन्तोष न्यौपानेलाई पुरस्कृत गरिएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।

उद्घाटन समारोहमा अध्यक्ष भट्टराईले महासंघका गतिविधि र भावी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन समारोहको समापन महासंघका उपाध्यक्ष मात्रृका घिमिरेले गरेका थिए भने साधारणसभाको बन्द सत्रले अध्यक्ष भट्टराईको प्रतिवेदन, महासचिव चिमरियाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यष सुजित वंशलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।