मोरङ : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मृतक सदस्यको २ लाख बढी कर्जा मिनाह गरेको छ ।
संस्थाको मोरङ जिल्लाको पथरी सेवा केन्द्रले आफ्ना शेयर सदस्यले तिर्नु पर्ने कर्जा मिनाह गरिदिएको हो । संस्थाका शेयर सदस्य नवराज चौहानको यहि भदौ १३ गते निधन भएको थियो । सदस्य चौहानको मृत्युपछि उनले संस्थालाई तिर्नु पर्ने २ लाख १५ हजार ६२३ रुपैंया कर्जा मिनाह गरिदिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाको पथरी सेवा केन्द्रबाट नियमित कारोबार गर्दै आएका सदस्य चौहानले संस्था संग ३ लाख रुपैंया कर्जा लिएका थिए । उनले अन्य रकम तिरे पनि बाँकी रहेको उक्त रकम संस्थाले मिनाह गरिदिएको हो ।

आज सोमबार संस्थाका सल्लाहकार घनश्याम न्यौपाने, स्थानीय समाजसेवी टंक भण्डारी तथा पथरी सेवाकेन्द्र प्रमुख सौरभ भण्डारीले मृतक सदस्य चौहानको परिवारलाई समवेदना सहित कर्जा मिनाह गरिएको पत्र हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।








































