बिर्तामोड : बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । आज सोमबार नगरले पालिकाको सभा हलमा नीति बजेट तथा कार्यक्रम समेटिएको पुस्तीका सार्वजनिकीकरण गरिएको हो ।
नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने वडाध्यक्षहरु सहित कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् ।
यसैबीच, बिर्तामोड नगरपालिकको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पास समेत भएको छ । नगरसभाको विशेष अधिवेशनले आज सोमबार यसअघि पेश गरेको आर्थिक ऐनलाई संशोधनसहित पास गरेको हो ।
नगरप्रमुख प्रसाईंको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र संग्रौलाले संशोधित ऐन प्रस्तुत गरेका हुन् ।
नगरपालिकको आर्थिक ऐन २०८० मा नगरपालिकाले लगाउने सम्पत्ति करका क्षेत्र र दरहरु, भूमिकर, मालपोतको क्षेत्र र दरहरु अघिल्लो वर्षको आर्थिक ऐन २०७९ बमोजिम हुने गरी व्यवस्था गरिएको छ ।
चालु आर्थिक बर्षका लागि नगरपालिकाले कार्यान्वयनमा ल्याएको सम्पति कर राजनीतिक दलको चौतर्फी विरोध पछि नगरले साउन ३२ गते फिर्ता लिएको थियो ।