बिर्तामोड  : हरितालिका तीजको अवसरमा झापाको बिर्तामोड ९ स्थित नाडियाबारीमा गन्धर्व सजकहरुसँग तीज बिशेष सांस्कृतिक कार्यक्रम गरिएको छ ।  

काली माता मठमन्दिर ब्यवस्थापन समिति, आदर्श नव युवा क्लब, आदर्श किर्तन मण्डली, आशिर्वाद किर्तन मण्डली र हरिहर किर्तन मण्डलीको संयुक्त आयोजनामा सोमबार आज गन्धर्व सर्जकहरुसँग तीज बिशेष सांस्कृतिक कार्यक्रम गरिएको  मन्दिरका सल्लाहकार तथा आदर्श युवा क्लवका संस्थापक अध्यक्ष काजी बुढाथोकीले जानकारी दिए । उनले करीब ७ बर्षदेखि निरन्तर रुपमा यो स्थानमा तीज मिलन कार्यक्रम गर्दै आएको जानकारी दिए । 

काली माता मठमन्दिर ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रविन बुढाथोकीको अध्यक्षता तथा  बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका अध्यक्ष रविन गन्धर्व, श्यामकुमार गन्धर्व, लालबहादुर गन्धर्व, सुजन गन्धर्व र तारा गन्धर्वले सहितका कलाकारले सांस्कृतिक प्रस्तुती राखेका थिए । 

मन्दिरका सल्लाहकार बुढाथोकीले स्वागत गरेको  कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला, बिर्तामोड–९ का कार्यबाहक वडाध्यक्ष केशव बुढाथोकी, आदर्श किर्तन मण्डलीकी अध्यक्ष अम्बिका कटुवाललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन मन्दिर ब्यवस्थापन समितिका सचिव जगत कटुवालले गरेका थिए ।