बिर्तामोड :  झापाको चारपानेको मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले जुम्लाको स्याउको बिक्री सुरु गरेको छ । किसानको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने लक्ष्यका साथ जुम्लाको स्याउको बिक्री सुरु गरिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनले  पहिलो चरणमा जुम्लाबाट छ हजार केजी स्याउ झापाको बिर्तामोड आइपुगेको बताए ।  झापाका सहकारीहरुलाई पनि उनले बिक्री प्रबर्द्धन गर्न आग्रह पनि गरेका छन् ।

सहारा नेपालको सहजीकरणमा जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेको जुम्ली स्याउ बिर्तामोडमा आइपुगेको जनाइएको छ । 

जुम्लाबाट कालीकोट, दैलेख, सुर्खेत हुँदै नेपालगञ्ज भएर छ दिनमा स्याउ झापा ल्याइपुर्याएको चन्दननाथ सहकारीका वित्तीय प्रमुख रामकृष्ण धरलाले जानकारी दिए ।

सहाराले जुम्लाबाट झिकाएको स्याउको बजार मूल्य प्रतिकेजी २५० रुपैयाँ कायम गरेको संस्थाका लेखा विभागका महेश शाहले जानकारी दिए ।

जुम्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको छ ।