झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपानेले ट्राफिक नियम पालना गर्न चालक तथा यात्रुलाई आग्रह गरेका छन् ।
सबैको साथ र सहयोग भए मात्र दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने उनको भनाई छ । दुर्घटना न्यूनिकरणको जिम्मा ट्राफिक प्रहरीकै मात्र भएजस्तो गर्ने प्रवृत्ति रहेको बताउंदै उनले दुर्घटना न्यूनिकरणमा यातायात व्यवस्था विभागसँगै यातायात विभाग, मन्त्रालय, सरकार र समाजको हरेक तप्का उत्तिकै जिम्मेवार हुनु पर्ने औंल्याए ।
मङ्लबार झापाको बिर्तामोडमा आठौं दुर्घटना महाअभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सबैभन्दा बढी सडक दुर्घटना मानवीय (चालकको लापरबाही, तीव्र गति, ओभरटेक, मादकपदार्थ सेवन (मापसे)का कारणबाट नै हुने गरेको ट्राफिक प्रमुख न्यौपानेको भनाइ छ ।
त्यस्तै उनले सडक दुर्घटनाको दोस्रो कारणमा सडकको अवस्था, तेस्रोमा यान्त्रिक गडबडी र चौथोमा क्षमताभन्दा बढी भार वहन गरेका कारण भएको बताए ।
उनका अनुसार झापा ट्राफिकले ट्राफिक चेकजाँच अनुगमन प्रणालीलाई अझै प्रभावकारी बनाउन मुख्य राजमार्ग सहित भित्री सडकमा चेक प्वाइन्ट मार्फत अनुगमन र चेकजाँच गरिरहेको छ ।
बढ्दो जनसंख्या, सवारी दुर्घटनामा वृद्धि, सवारीसाधनको तीव्र वृद्धिदर, सडक विस्तार हुँदासमेत ट्राफिक प्रहरीमा बजेट तथा स्रोतसाधनको कमी हुंदा समस्या हुने गरेको उनको भनाई छ । तर सीमित स्रोत र साधनलाई परिचालन गरेर झापा ट्राफिकले काम गरिरहेको उनले बताए ।
‘जिल्लाका धेरै दुर्घटना हुने स्थानको एकिन गरी त्यस्ता मार्गमा ट्राफिक संकेत व्यवस्था गरिएको छ , प्रमुख न्यौपाने भन्छन्, ट्राफिक संकेत मेटिएका स्थानमा पुःनर लेखन र बिग्रीएका , भत्कीएका ठाउंमा नयां बोडहरु राखिएको छ । ’
तीब्र गती मापन, मापसे जाँच सहितका अन्य काम पनि प्रहरीले गरिरहेको उनले बताए । भाडाका तीन चक्के अट्टो रिक्सा तथा बसहरुले केहि पैसाको लोभमा जथाभावी यात्रु ओराल्ने र चढाउने गरेका कारण दुर्घटनाको जोखिम पनि बढेको र यात्रुको सुरक्षामा समेत प्रश्न उठेको भन्दै उनले चालकहरुलाई त्यस्तो नगर्न आग्रह समेत गरेका थिए ।