झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त, भरपर्दो र विश्वसनीय बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन ।
सर्व साधारणको जनधनको सुरक्षा, सहज यात्रा, दुर्घटना न्युनिकरण, अपराध रोकथाम गर्नका लागि विभिन्न सरोकारवाला निकाय, स्थानीय तहहरुसँग सहकार्य एवं समन्वय गरी सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई सुदृढ गर्दै लैजाने उनले प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
शुक्रबार आज बिहान कार्यालय परिसरमा पत्रकारहरुसंग कुरा गर्दै न्यौपानेले ट्राफिक ब्यवस्थापन एवम कानून कार्यान्वयनमा समन्वय गरि अगाडी बढने समेत बताए ।
उनले दुर्घटना बढी हुने क्षेत्रमा सीसीटिभी जडान गर्न स्थानीयतहरुसंग समन्वय गर्ने र विद्यालय तथा समुदायमा ट्राफिक सचेतना कार्यलाई तिब्रता दिइने पनि बताए ।
झापाका मुख्य बजार क्षेत्रमा पार्किङ्ग, ई–रिक्सा लगायतको समस्या पनि रहेको हुदा सरोकारवालासंग छलफल गरि त्यसको ब्यवस्थापन तर्फ लाग्ने न्यौपानेको भनाई छ ।
उनले ट्राफिकलाई सहज, सुलभ र सुदृण बनाउनका लागि कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए । चाडपर्व नजिकिएसँगै दुर्घटनाको जोखिमसमेत बढ्ने सम्भावना भएकाले न्यूनीकरणका लागि सबै उपाय अपनाउने र त्यसकालागि मातहतका ट्राफिक युनिटलाई परिचालन गरिने उनले बताए ।