बिर्तामोड । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र यातायात प्रभाग नेपालले बिर्तामोडमा सडक सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ । राष्ट्रिय अभियानका रुपमा सडक सुरक्षा,जीवन रक्षा कार्यक्रम चलाउंदै आएको राजयोग सेवा केन्द्रले आज शुक्रबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सवारी दुर्घटना मुख्य चुनौती रहेको बताइन । उनले सांघुरो,अव्यवस्थित सडक र द्रुत गतिकाकारण बढी दुर्घटना हुने गरेको भन्दै ट्राफिक नियमको पालना गरेर सवारी कुदाउन सबैलाई आग्रह गरिन । 

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले सवारी दुर्घटना न्युनिकरणका लागि सबै सचेत हुनु पर्ने बताए ।  दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बढ्दै गएको भन्दै उनले  ट्राफिक नियमको पालना गर्न सबैमा आग्रह गरे । 

ट्राफिक प्रमुख न्यौपानेका अनुसार चालुआर्थिक वर्षको भदौ महिनासम्म झापामा १ सय ४४ वटा दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ५१ जना घाईते भएका छन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजयोग अन्तराष्ट्रिय केन्द्रका प्रशिक्षक तथा मधुवन ब्रह्माकुमारी मिडिया प्रभाग मधुवनका रामस्वरुप भाईजीले चालक अनुशासीत भए दुर्घटना कम धारणा राखेका थिए । 

यस्तै कार्यक्रममा बोल्दै ब्रह्मकुमार गुणराज लामिछानेले विद्यालय स्तरमा दुर्घटना न्युनिकरणको शिक्षा दिन सकियो भने सकरात्मक सन्देश जाने धारणा राखेका थिए ।  राजयोगी ब्रह्माकुमारी रबिना दिदीको सभापतित्वमा भएको  कार्यक्रमको सन्चालन तुलसी भाईजीले गरेका थिए । 

सोही कार्यक्रममा  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्रमुखमा भर्खरै सरुवा भएर आएका ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेलाई स्वागत गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले उहांलाई खादा लगाएर स्वागत गरेकी हुन् ।