झापा : नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इञ्जिनियर आङ दोर्जे लामाले आम निर्माण व्यवसायी जर्जर अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
झापाको विर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसको सभाहलमा सोमबार निर्माण व्यवसायी संघ झापाको १५ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले विभिन्न कारणले देशभरका निर्माण व्यवसायी पीडामा रहेको बताए । उनले सरकारी कामहरुको समयमै भुक्तानी नहुने र विभिन्न ऐन–कानूनका बुँदाहरु केलाएर व्यवसायीहरुलाई दुःख दिइरहेका कारणबाट व्यवसायीहरु बढी प्रताडित भइरहेको उल्लेख गरे ।
धेरै निर्माण व्यवसायीले अझै पनि सरकारी कामहरुको धेरै पुरानो भुक्तानी लिन नसकिइरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष लामाले चाँडो भन्दा चाँडो सम्बन्धित निकायहरुले भुक्तानी नदिए निर्माण व्यवसायीहरु आर्थिक रुपमा थप संकटमा पर्नसक्ने बताए ।
निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा आयोजित साधारणसभामा वरिष्ठ उपाध्यक्ष लामाले पछिल्लो पटक विभिन्न मागहरु राखेर महासंघको नेतृत्वमा व्यवसायीहरुले गरेको आन्दोलनले एउटा सकारात्मक परिणाम ल्याउने आशा पलाएको उल्लेख गरे । उनले आन्दोलनपछि सरकारसँगको वार्ताले परिणाम सुखद आउनेमा आशावादी रहेको बताए ।
केही दिनपछि दएउटा निर्णय आउँदैछ’, उनले भने– ‘त्यो आम निर्माण व्यवसायीको पक्षमा हुनेछ भन्ने विश्वास छ ।’ उनले वार्तामा भएको सहमति अनुसार निर्णय नआए महासंघ फेरि आन्दोलनमा जानुको विकल्प नरहने उल्लेख गर्दै त्यो आन्दोलन अझ सशक्त हुने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले स्वागत र महासचिव पुरष्पपराज निरौलाले सञ्चालन गरेको समारोहमा महासंघका महासचिव रोशन दाहालले महासंघले सञ्चालन गर्दै आएका गतिविधि जानकारी गराउँदै विभिन्न तालिमहरुमार्फत व्यवसायीहरुलाई दक्ष बनाउन महासंघ लागिपरेको जानकारी दिए ।
महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारी, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्र, कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी, संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार गणेशबहादुर वस्नेतलगायतले शुभकामना मन्तव्य राख्दै निर्माण व्यवसायीहरु पीडामा रहेकोले सामुहिक हकहितका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष मिलन वस्नेतले अध्यक्षको मन्तव्य राख्दै झापा संघ सदस्यहरुको समस्या समाधानमा निरन्तर लागिपरेको बताउँदै व्यवसायीहरुलाई समान रुपमा ठेक्का दिलाउने विषयमा संघले सहजीकरण गर्दै आएको उल्लेख गरे ।