सुरुङ्गा । 

धार्मिक तथा पर्यटकीय क्षेत्र श्री कनकाई धाम धार्मिक विकास संस्था ( कोटीहोम) को आगामी हुने निर्वाचनका लागि स्वतन्त्र समुहले प्रचार प्रसारलाई तिब्रता दिएको छ ।  

यहि असोज १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र समुहका अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर थापा सहितको प्यानलले  आफ्ना १५ बुँदे प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तिब्रता  पारेको हो ।   

कोटिहोम धार्मीक संस्थामा आफ्नो प्यानल निर्वाचित भए ३ वर्षे कार्यकाल भित्रमा योगी नरहरीनाथको स्मृतीमा महायज्ञ संचालन गर्ने, ॐकार परिवारको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी योगी नरहरीनाथ स्मृति संग्रालय स्थापना गर्ने, हाल सञ्चालमा रहेको संस्कृत पाठशालाको स्तरउन्नती गरी ५० भन्दा बढी विद्यार्थीहरुलाई वैद्धिक शिक्षा प्रदान गर्ने, लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउने, नरहरीनाथको स्मृतिमा सन्तमहन्त, धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थित गराएर धार्मिक महोत्सव गर्ने, आधुनिक पद्धति अपनाई व्यवस्थित रुपमा गौ पालनको शुरुवात गर्ने लगायतका प्रतिवद्धता पत्र बिहीवार (आज) सुरुङ्गामा पत्रकार भेटघाट मार्फत समुहका अध्यक्ष थापा सहितको प्यानलले सार्वजनिक गरेको हो । 

yate

अधुरो रहेको मेची महाकाली भवन लगायत अन्य अधुरा रहेका निर्माण कार्यलाई पूरा गर्ने, देश विदेशबाट आउने धार्मिक पर्यटकहरुलाई बासस्थानको लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न पहल गर्ने लगायतका प्रतिबद्धता समुहले गरेको छ । 

धार्मिक संस्थामा सिट बाडफाँड गरेर राजनीति गर्न खोजिएको भन्दै त्यसको बिरुद्धमा स्वतन्त्र समुह खडा भएको अध्यक्ष पदका उम्मेदवार शेरबहादुर थापाले जानकारी दिए । उनले आफ्नो समुहले अगाडि सारेको प्रतिबद्धता निर्वाचित भएको खण्डमा कुनै हालतमा पुरा गर्ने बताए ।   

चुनाव प्रचारप्रसार समितिका संयोजक भिमप्रसाद अधिकारीका अनुसार  स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा थापा सहित बरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, पर्यटन उपाध्यक्षमा रामकुमार अधिकारी र धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवालले उम्मेद्वारी दिएका छन् । त्यस्तै महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका सुवेदी चापागाईले उम्मेद्वारी दिएका छन् । 

सदस्य पदमा सोमनाथ गौतम, लक्ष्मीप्रसाद निरौला, मोहन राजवंशी, बिन्दुराज दाहाल, हरिप्रसाद तिम्सिना, चेतप्रसाद भट्टराई, दधीराम न्यौपाने, बासुदेव रिजाल, माधव पोखरेल, लीलाप्रसाद अधिकारी, भिष्मप्रसाद पौडेल र बासुदेव निरौलालले उम्मेद्वारी दिएका छन् । 


३२ जनाको कार्य समिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ९ जना निर्वाचित समितिले मनोनित गर्ने जनाइएको छ ।