नेपालले १९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा माल्दिभ्समाथि १ सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोरी टोली माल्दिभ्समाथि जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । मंगोलियाबिरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपाल माल्दिभ्सबिरुद्ध पनि रबाफिलो जित निकाल्यो ।

दुई सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा अलआउट भयो । नेपालको बलिङमा अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धरासायी बनाए ।सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो । माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए ।

उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे । उनी १६ औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए । त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिअुसले १० रन जोडे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङ दुई बल अगाडि नै समेटियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए । शुरुवातदेखि नै आक्रामण खेलेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो ।

मध्य क्रमका ब्याटर गुल्सन झाले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए ।तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाएपनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिएपनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।