झापाको दमकमा चार दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनामा संमलग्न ११ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
दमक १ कुमाल चोकस्थित एक होटलमा चुलाचुली ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टप्पुस्थित एक घरमा मोटरसाइकलसहित लुकेर बसेका मुख्य आरोपी दमक ७ स्थित सयपत्री टोलका २२ वर्षीय सनम राई दमक १ स्थित नवदुर्गा टोलका २२ वर्षीय आनन्द भनिने २२ बर्षीय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सुवास आलमलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।
म्ुख्य आरोपी राई सहित आरोपी भुजेल र आलमलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमा मुख्य आरोपी राई सहित दमक ७ का १८ वर्षीय सुवास आलम, दमक १ कुमालचोकको रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमाल,
दमक १ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ, दमक ७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू छन् ।
त्यस्तै इलाम चुलाचुली ४ का ३१ वर्षीय सन्दिप राई, चुलाचुली ३ का ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको हो ।
उनीहरुले प्रारम्भिक चरणमा दिएको बयानअनुसार राईसहितको तीन जनाको समूहले मदिराले लठ्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बूको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले हत्याको घटनामा प्रयोग भएको छुरा (हतियार) विराटनगरमा रहेको प्रारम्भ्कि बयानबाट खुलेपछि सो हतियार समेत त्यहाँस्थित प्रहरीसँगको समन्वयमा प्रहरीले बरामद गरी दमक तर्फ ल्याउने प्रकृया चलिरहेको जानकारी दिए ।
दमकमा १२ असोजको बिहान ४ बजेको समयमा सो घटना गराएर फरार भएका मुख्य अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्ड, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरिक्षक रुद्र खडकाको कमाण्ड र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले खोजी तथा अनुसन्धान गरी फेला पार्न सफल भएको जनाईएको छ ।
यसअघि प्रहरीले सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछाफ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।