झापाको बिर्तामोड ५ का स्थानीयबासीले लागुपदार्थ प्रयोग, बिक्री वितरण र देह व्यापारमा संलग्न १७ जना बालक र किशोरकिशोरीलाई पक्राउ गरी प्रहरीसमक्ष बुझाएका छन् ।
लागुऔषध प्रयोग गरेर होहल्ला गर्ने र सार्वजनिक स्थलमा अश्लील गतिविधि गर्दै आएपछि बिर्तामोड–५ सुगमटोल गणपति मार्गका स्थानीयले उनीहरुलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको जनाएका छन् । समाज सुधार अभियानअन्तर्गत टोलबासीले लागुऔषध प्रयोगकर्ता, देह व्यापारमा संलग्नमाथि कडा निगरानी राख्दै आएको थिए ।
आज सोमबार बिहान टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयले सुगम पेट्रोलपम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट लागुऔषध कारोबारी पुष्टि नभएकाहरू ४ जनालाई अभिभावक बोलाएर जिम्मा लगाइएको र अभिभावक नभएका १० जना किशोरी र ३ जना बालकलाई बिर्तामोड ५ मा रहेको क्षितिज महिला गृहमा अभिभावक नभेटिउन जेल सम्म त्यहीं राख्ने गरी पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।