झापा: झापाको बिर्तामोड ५ स्थित नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुस्मा भण्डारी पौडेलको अनुपस्थितीमा संस्थाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रेमचन्द्र लिम्बुको
अध्यक्षता एवं बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यतामा आज शनिबार बिर्तामोडमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले पछिल्लो समय केहि सहकारीका सञ्चालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण सहकारीमा समस्या देखिंदै आएको बताए । तर सबै सहकारीहरुलाई एकै नजरले हेर्न नहुने उनको भनाई थियो ।
सभामा संस्थाका कार्यबाह अध्यक्ष लिम्बुले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय बजारमा देखिएको नकारात्मक प्रभावका वावजुद पनि संस्थाले गत आ.व. मा गुणात्मक वृद्धि गर्न सकेको बताए । वित्तीय मन्दीका बावजुद पनि संस्थाले २०८० असार मसान्त सम्मा २४ लाख २२ हजार ८०६ रुपैंया मुनाफा गर्न संस्था सफल भएको जानकारी दिए ।
संस्थाका सञ्चालक समिति सदस्य बिदुर खनालले स्वागत गरेको कार्यक्रमको सञ्चलान संस्थाका सह सचिव शिवराज पौडेलले गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष केशरबहादुर खवासले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कोषाध्यक्ष चन्द्रमणी कट्टेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६९ साल बैशाख २५ गते ७७ जना शेयर सदस्यको ३ लाख ८५ हजार शेयर पुंजीबाट स्थपना भएको संस्थामा आ.व. २०७९र०८० को अन्त्य सम्ममा संस्थामा २ हजार ५ सय ३५ सेयर सदस्य रहेका छन् भने २ करोडको ५० लाख ५६ हजार ३ सय शेयर पुंजी रहेको संस्थाका ब्यवस्थापक रोहित पौडेलले जानकारी दिए ।
सभामा असल ऋणि तर्फ रुचन सुब्बा, भेषराज मिश्र, प्रियंका कार्की, जसकुमारी धिमाल, सन्त तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ता तर्फ उमा बराइली, मिलन सरकार, दिलप्रसाद लिम्बु, पावनी राजवंशी, अर्जुन थापा, राधिका रजक, केदार मम गुरुङ लाई सम्मान गरेको छ । त्यस्तै जेष्ठ सदस्य तर्फ संस्थाले यमबहादुर बराइलीलाई सम्मान गरेको थियो ।