जेरुसेलम । इजरायली सेना र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको जारी युद्धमा दुवै पक्षका पाँच सयभन्दा बढीको मृत्यु भएको छ । संघर्षमा सयौं घाइते भएका छन् ।

इजरायलको प्रतिकारमा गाजा क्षेत्रमा २६५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस्तै, इजरायलले पनि हमासको आक्रमणबाट २५० जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेनाले हमासविरुद्ध ८ स्थानबाट प्रतिकार गरेको छ भने दक्षिण क्षेत्रका २२ स्थानमा पुनः नियन्त्रण कायम राख्न सफल भएको जनाएको छ । इजरायली सेनाले गाजापट्टीमा सर्वसाधारणलाई घर छाड्न उर्दी जारी गरेको छ । इजरायली वायुसेनाले गाजा स्ट्रिपस्थित हमासको सैन्य क्याम्पलक्षित गरी दर्जनौं आक्रमण गरेको भिडियो सार्वजनिक गरेको छ । फाइटर जेटहरुले हमासमा गुप्तचर संयन्त्रमा पनि आक्रमण गरेका छन् ।

गाजापट्टीमा जवाफी हवाई कारबाही

यसैबीच, इजरायल, लेबनान र सिरियाको विवादित क्षेत्र माउन्ट डोभमा पनि आक्रमण भएको छ । आक्रमणको जिम्मा इरानसमर्थित हेजबोल्लाह समूहले लिएको छ ।

इजरायलले लेबनानी क्षेत्रलक्षित गरी हवाई आक्रमण गरेको छ । उता, इजरायलस्थित अमेरिकी दूतावासले विद्रोही समूहले एक सय सर्वसाधारण तथा सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । हमासले भने इजरायलभित्र संघर्ष जारी रहेको जनाएको छ ।