लक्ष्मीपुर ।
झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले नजिकिंदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै यस बर्ष १ हजार २४२ जना सदस्यलाई १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने भएको छ ।
संस्थाले २७ औं बार्षिक साधारणसभाका अवसरमा सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरर्गत सदस्यको सुविधालाई मध्य नजर गर्दै यो बर्ष उक्त रकम वितरण गरिने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
नजिकिंदै गरेको नेपालीहरुको महान चाड दशैं , तिहारलाई लक्षित गरेर ८१५ जना एकल महिलालाई जनही ८ हजारका दरले ६५ लाख २० हजार, पोषण भत्ता अन्तरगत ६५ बर्षमाथिका २४३ जनालाई जनही ६ हजारका दरले १४ लाख ४८ हजार, जेष्ठ नागरिक सम्मान
अन्तरगत ७० बर्ष माथिका १२८ जनालाई जनही ८ हजारका दरले १० लाख २४ हजार, बृद्धबृद्धा सम्मान अन्तरगत ८१ बर्ष माथिका १० जनालाई जनही १० हजारका दरले १ लाख रुपैयाँ वितरण गरिने कार्यक्रम तय भएको संस्थाका कार्यकारी प्रमुख गिरीको भनाई छ ।
त्यस्तै दीर्घायु भत्ता ८६ बर्ष माथिका ५ जनालाई जनही २५ हजारका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ बर्षमाथिका १४ जनालाई जनही ६ हजारका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार र परिवार राहत अन्तरगत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ वितरण गरिने छ ।
देशकै नमुना सहकारीको रुपमा कहलीएको सहारा साकोसले कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लाका ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
साकोसले प्रत्येक बर्ष सामाजिक सुरक्षा अन्तरगत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ । अघिल्ला बर्षमा छुट्टै कार्यक्रम गरेर भत्ता वितरण गर्दै आएको पनि यो बर्ष भने आज आइतबारबाट सुरु भएको इकाइगत साधारणसभामा मातहतका सेवा केन्द्र मार्फत वितरण सुरु गरिएको संस्थाका उपबिभागिय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।
त्यस्तै संस्थाका बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायका अनुसार आज पहिलो दिन १० वटा सेवा केन्द्रका १२ वटा ठाउंमा इकाइगत साधारणसभा समपन्न भएको छ ।
संस्थाले ६ वटा जिल्लामा हुने इकाईगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनौट गरेर आगामी कार्तिक १८ गते अन्तिम माइन्यूट प्रमाणिकरण गर्ने बताइएको छ । एकाईगत साधारणसभा अन्तरगत पाँचथरबाट १ जना, उदयपुरबाट १ जना, इलामबाट २ जना, सुनसरीबाट ४ जना, मोरङबाट ६ जना र झापाबाट १७ जना प्रतिनिधि छनौट हुने बताइएको छ ।