नेपालकै नमुना झापाको बिर्तामोड २ स्थित चारपोनमा केन्द्रिय कार्यालय रहेको  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सोमबार (आज) बिर्तामोड सेवा केन्द्रको इकाइगत साधारणसभा समपन्न गरेको छ ।

संस्थाको २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा हिजो आइतबारबाट सुरु भएको हो । 

बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाको महिला उपाध्यक्ष पवित्रा लिम्बुको अध्यक्षतामा भएको इकाइगत साधारणसभामा बिर्तामोड सेवा केन्द्र सञ्चालक उप समिति सदस्य रमेश अग्रवालले स्वागत गरेका थिए ।  

साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म सञ्चालन हुने बिर्तामोड सेवा केन्द्र प्रमुख लक्ष्मीप्रसाद रिजालले जानकारी दिए । 

 

 संस्थाले छवटा जिल्लामा हुने इकाइगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनोट गरेर आगामी कात्तिक १८ गते अन्तिम माइन्युट प्रमाणीकरण गर्ने पनि उनले जानकारी दिए । कार्यक्रममा सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरर्गत एकल तथा जेष्ठ सदस्यलाई सुविधा बापतको रकम वितरण गरिएको थियो । 

कार्यक्रममा सञ्चालक समिति सदस्य भोला धितालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने अध्यक्षको प्रतिवेदन लिम्बुले गरेकी थिइन । 

कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्र सञ्चालक उप समिति सदस्य हिमादेबी प्रसाईले गरेकी थिइन ।  आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्ममा १ लाख ५७ हजार ६०६ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा २ अर्ब २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँ आम्दानी गरेर र १ अर्ब ८१ करोड ३७ लाख ४३ हजार ५६१ रुपैयाँ खर्च गरेर खुद नाफा ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ ।