भद्रपुर

आगामी मंसिर पहिलो सातादेखि झापा जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको तयारी गरिरहेको भद्रपुर झापा गोल्डकपले बडादशैंलगायतका पर्वहरुको अवसर पारेर आइतबार शुभकामना आदान–प्रदान गरेको छ ।

मेची रंगशालास्थित गोल्डकपको सचिवालयमा आयोजित एक समारोहका बीच शुभकामना आदान–प्रदानका साथै आगामी लिग कम नकआउट प्रतियोगिता बारे जानकारी गराइएको हो ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, गोल्डकपका प्रमुख सल्लाहकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, पूर्व राष्ट्रिय खेलाडी तथा प्रथम भद्रपुर झापा गोल्डकपको आयोजक टिमका कोच हरि खड्का, गोल्डकपका उपाध्यक्ष

डिल्लीराम घिमिरे (हिक्मत), बाबुराम पराजुलीलगायतले बडादशैं, शुभदिपावलीलगायतका चाडपर्वको शुभकामना दिँदै मंसिरमा गर्न लागिएको लिग प्रतियोगिता सफल बनाउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।

गोल्डकपका सचिव टहलदास मैनालीले स्वागत गरेको समारोहको सञ्चालन गर्दै महासचिव जीवनकुमार श्रेष्ठले लिग कम नकआउट प्रतियोगिताका सम्बन्धमा हालसम्म भएका तयारी र गरिएका क्रियाकलाप बारे जानकारी दिएका थिए ।

महासचिव श्रेष्ठका अनुसार आगामी मंसिर ७ गतेदेखि मेची रंगशालामा झापा जिल्लास्तरीय लिग कम नकआउट प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहका टिम र आयोजक टिम गरी १६ वटा टिमको सहभागिता रहने र सोको प्रस्तावसहित सबै स्थानीय तहलाई जानकारी गराइसकिएको महासचिव श्रेष्ठले बताए । सबै स्थानीय तहबाट प्रस्ताव बारे सकारात्मक प्रतिक्रियाका साथै प्रतियोगिताका लागि उत्साहित भएको पाइएको श्रेष्ठको भनाइ छ ।

समारोहमा गोल्डकपका अध्यक्ष ढकालले प्रथम भद्रपुर झापा गोल्डकपको सफल आयोजनपछि भद्रपुर झापा गोल्डकप समितिलाई चुनौतीसँगै अवसरहरु पनि प्राप्त भएको बताउँदै लिग प्रतियोगिता पनि भव्य रुपमै सफल बनाउन सबै खेलकुदप्रेमी एकजुट हुनुपर्ने बताए । उनले लिगका लागि पनि ठूलै धनराशि खर्च हुने बताउँदै सहयोगका लागि आह्वान पनि गरेका छन् ।