अर्जुनधारा स्थित वील्कन इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको पेवर्स प्रयोग गरि निर्माण गरिएको बिर्तामोड ५ स्थित वालाजी टोलको सडक हस्तान्तरण गरिएको छ ।
निर्माण सम्पन्न भएको ५ बर्षपछि वारेन्टी रहेको सो सडक हाल सम्म पनि कुनै समस्या नदेखिएपछि वालाजी टोल विकास संस्थालाई प्रालिले सडक आज बिहिबार हस्तान्तरण गरेको हो ।
वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सहित आयोजित कार्यक्रमकाबीच सो सडक प्रालिका अध्यक्ष भीमचन्द्र भट्टराईले टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र कुमार अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
सो समारोहमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्नि प्रसाद पाण्डे लगायतले बोलेका थिए ।
सो कम्पनीले उत्पादन गरेको पेवर्सको प्रयोग गरेको सडकमा एक सय टन सम्मको सवारी साधन प्रयोग गर्न सकिने प्रालिका अध्यक्ष भट्टराईले बताए ।
टोल विकास समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले प्रालिका अध्यक्ष भट्टराईलाई गुणस्तरीय सडक निर्माण गरेको भन्दै प्रशंसापत्रद्वारा सम्मान समेत गरिएको थियो ।
संस्थाका सल्लाहकार डा .चन्द्रशर्मा दुलालले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।