झापाको बिर्तामोड–२ स्थित चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपालले २८ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आज शुक्रबार संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग गर्दै २८ औं वाषिकोत्सव मनाएको हो ।
नेपालका ३४ वटा जिल्लामा कार्यसम्पादन गरिसकेको संस्थाले ६६ वटा परियोजना सम्पन्न गरेको संस्थाका सचिव महेन्द्र कुमार गिरीले कार्यक्रमममा जानकारी दिए । सचिव गिरीका अनुसार संस्थाले जलवायु परिर्वतन, सामुदायिक स्वास्थ्य तथा सरसफाई, विपन्न वर्गलाई आवास, स्वरोजगार तथा उद्यमशीलता, जिविकोपार्जन, सौर्य ऊर्जा, सरकारसँग साझेदारी, वित्तीय पहुँच, संस्थागत विकासका लागि सामाजिक व्यवसाय, कृषिको दिगो विकास लगायतका योजनाहरुमा रहेर ६६ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
संस्थाले बिपन्नका लागि ४ हजार वढी घर निर्माण गरेर हस्तान्तरण गरिसकेको पनि सचिव गिरीले बताए । साथै उनले संस्थाले ५० वटा झोलुङ्गे पुल निर्माण, १० वटा खानेपानी आयोजना निर्माण गरिसकेको र बाँसलाई बजारीकरण गरिरहेको जानकारी दिए । वि.स. ५०५१ साल कार्तिक ५ गते स्थापना भएको संस्था सहारा नेपाल र सहारा नेपाल साकोस छुट्टाछुट्टै भएको पनि उनले सहभागिलाई स्पष्ट पारेका थिए ।
साथै बार्षिकोत्सव तथा वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग गरीएको थियो ।
कार्यक्रममा विशेष कक्षा सञ्चालन गर्ने दुई वटा विद्यालयलाई नगद सहयोग गरिएको थियो । बिर्तामोड ९ मा रहेको गरामनीस्थित दुर्गा मावि र कनकाई ८ मा रहेको हिमाली माविलाई जनही २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
त्यस्तै ह्याविट्याड फर ह्युमानिटी एक्सन अगेन्स एसीएफकी नेपालका लागि कन्टी डाइरेक्टर ओजश्वी आचार्य, उत्कृष्ठ कर्मचारी दिपक लेखी, संस्था स्थापनामा संस्थामा आवद्ध सुनिता हास्दालाई सम्मान गरिएको थियो ।
राष्टिय सभा सदस्य गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष श्यामकुमार प्रधानले गरेका थिए । कार्यक्रमको सञ्चाल कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले गरेका थिए ।
सोही कार्यक्रममा संस्थाले वडा दशैंको अवसरमा शुभकामना आदन–प्रदान कार्यक्रम गर्नुका साथै संस्थाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सँगै सहारा साकोस शिक्षा सदनका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत समेत गरेका थिए ।