सन्तोष न्यौपाने÷झापा 

यस वर्षको बडादशैंको समयमा झापामा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको पाइएको छ । 

नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको चाडपर्व विशेष सुरक्षा योजना तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सम्बन्धित पक्षको सजगताका कारण यस्तो नतिजा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको  विश्लेषण छ ।

3989

ठूला चाडपर्वको समयमा सडक दुर्घटना अत्यधिक हुने घटनामा सदैव बढोत्तरी हुने आमप्रवृत्ति नै हो ।

यसलाई रोक्न विगतमा झैं यस वर्ष पनि प्रहरी कार्यालयले गत असोज २१ गते देखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको थियो । 

यस योजनाअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मातहतका युनिट मार्फत दुर्घटना रोक्न सवारी चेकजाँचमा कडाई गर्नुका साथै ट्राफिक नियमलाई कडाईका साथ कार्यन्वयन गर्न र गराउन प्रहरीहरु परिचालित गरेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा भन्दा चालू आर्थिक वर्ष २०८०÷८१ मा दुर्घटनामा निकै कमी आएको छ । 

प्रहरीको अभिलेख अनुसार यस अवधिमा २२ वटा सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

गत आवको सोहि अवधिमा ४० वटा सवारी दुर्घटनामा परी ६२ जना घाइते भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । 

यस अवधिमा १ हजार १४६ वटा सवारी ट्राफिक कारवाहीमा पर्दा प्रहरीले ७ लाख ५४ हजार राजश्व संकलन गरेको छ । गत सोहि अवधिमा १ हजार ४९९ सवारी कारवाहीमा परेका थिए । सो अवधिमा १० लाख २ हजार राजश्व संकलन भएको गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

ट्राफिक प्रमुख न्यौपानेले सवारी दुर्घटना सङ्ख्या र कारवाहीमा कमी आएको बताउंदै ट्राफिक प्रहरीको सक्रियताका कारण नागरिकले ट्राफिक नियमको अनुशरण गरेको बताए । 

चाडपर्वमा हुने सक्ने दुर्घटना  न्यूनीकरणका लागि जनचेतनामुलक जिंगल धुन, माइकिङ तथा पर्चापम्प्लेट वितरण जस्ता कार्यहरु गरिएको उनले बताए । 

त्यस्तै उनले इप्रका कार्यालय सहित बिभिन्न संघ संस्थासंग समन्वय र सहकार्य गरी नागरिक सहायताकक्ष र यात्रु सहायताकक्ष स्थापना गरी यात्रुबाहक सवारीसाधनले यात्रुसँग गर्ने व्यवहार, सिट क्षमता, आरक्षण सिट कार्यान्वयन, चालक परिवर्तन, भाडा असुली तथा यातायात व्यवस्था कार्यालय

झापासंग सहकार्य गरी सवारीका सामान्य मेकानिकल अवस्थालगायत अनुगमन गरी आवश्यकता अनुसार नागरिकलाई सहजीकरण गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणमा जोड दिइएका कारण दुर्घटनामा कमी आएको जानकारी दिए ।  

त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउने यो अवधिमा ५७  जना कारवाहीमा परेका छन् । गत बर्ष सोहि अवधिमा ६७ जना कारवाहीमा परेका थिए । 

गत वर्षको तुलनामा दुर्घटनामा कमी आएको देखिए पनि यसलाई सन्तोषजनका मान्न नसकिने प्रमुख न्यौपानेको भनाई छ ।  

यो संख्यालाई सकेसम्म शून्यमा झार्न र त्यस्तो संभव नभएपनि अधिक संख्यामा कमी ल्याउन सडक प्रयोग गर्ने चार पाङ्ग्रे, दुई पाङ्ग्रे चालकका साथै पैदल यात्रुहरु नै सचेत हुन पर्ने ट्राफिक प्रहरी प्रमुख न्यौपानेको भनाइ छ ।