विर्तामोड सहितका मुख्य बजार क्षेत्र तथा सडकको निगरानी अब जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडकै कार्यकक्षबाटै हुने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित भवनमा सिसी क्यामेराबाट खिचिएको भिडियो कार्यालय प्रमुख नवराज न्यौपानेको कार्यकक्षबाट ‘मोनिटर’ हुने छ ।
अब बिर्तामोड सहितका विभिन्न स्थानमा राखिएका यस्ता क्यामेराबाट खिचिएको भिडिओ कार्यालयबाटै हेर्न सकिने प्रहरी निरीक्षक न्यौपाने बताउंछन् ।
कार्यालय प्रमुख न्यौपानेले मङ्लबार (आज) बाट कार्यकक्षबाटै सिसी क्यामेरा हेर्नकालागि मोनिटर जडान गरेका हुन् ।
ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन (मुक्तिचोक) मा यस अघि नै क्यामेरा हेर्ने व्यवस्था रहेको थियो । तर पुरानो भवनबाट सरेर झण्डै २ बर्षदेखि नयां कार्यालयबाट सेवा प्रवाह गर्दै आएको भए पनि सो भवनमा सिसी क्यामेराको निगरानी गर्ने व्यवस्था मिलाइएको थिएन ।
कार्यालय प्रमुख न्यौपानेको पहल र सक्रियतामा सिसी क्यामेराको निगरानीकोलागि मोनिटर जडान गरिएको हो । बिर्तामोड बजार क्षेत्र, बुट्टाबारी, लक्ष्मीपुर, चारपाने, धिमाल चोक लगायतका १६ स्थानमा जडान गरिएका सिसी क्यामराको प्रत्यक्ष निगरानी जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै हुने कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।
यस अघि पुरानो कार्यालयमा ७–८ वटा स्थानमा मात्र जडान गरिएका क्यामेराको निगरानी गर्ने व्यवस्था थियो । यद्धपी कार्यालय स्थानतरण भए पश्चात विबिध कारणले क्यामरा हेर्ने व्यवस्था हुन सकेको थिएन ।
तर कार्यालय प्रमुख न्यौपानेले अपराध र दुर्घटनाको तथ्य पत्ता लगाउन अचुक प्रमाण बनेको सीसी क्यामेराको दृश्य हेर्ने व्यवस्था मिलाएका हुन् । यस अघि सीसी क्यामेरामा कैद भएका फुटेज आवश्यक परेको खण्डमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानु पर्ने बाध्यता ट्राफिक प्रहरीलाई थियो ।
आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको उनको भनाई छ ।
उनका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका छन् ।
उनले जडान भएका क्यामेराले ट्राफिक नियम मिच्नेलाई मात्र होइन, अन्य आपराधिक कार्यमा संलग्नलाई समेत समात्न सघाउ पु¥याउंदै आएको बताए ।
सीसी क्यामेरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्त तथा दुर्घटना गराएर फरार भएकालाई प्रहरीले समातेर कारबाहीको दायरामा ल्याएका उदाहरण धेरै भएको बताउंदै उनले कतिपय शंकास्पद घटनाको पुष्टि गर्न पनि सीसी क्यामेराकै प्रयोग हुने बताए ।
ठूला घटना मात्र नभई स–साना घटनाबारे थाहा पाउन र सवारी चालकलाई जवाफदेही बनाउन सीसीटीभी प्रभावकारी भएको आफूहरूको बुझाइ रहेको न्यौपाने बताउंछन् ।
बिर्तामोड सहित ठुला तथा साना बजार क्षेत्रमा बिभिन्न संघ संस्थाको पहलमा केहि बर्ष अघि जडान गरिएका सिसी क्यामेरा अधिकांश जस्तो मर्मतको अभावमा काम नलाग्ने भएका छन् । तसर्थ बिग्रीएका क्यामेरा मर्मत पनि अबिलम्ब गर्न आवश्यक छ ।