बिर्तामोड ।
एकका लागि एक अभियानले अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
अभियानले सहारा नेपाल साकोसको सभाहलमा आज मङलबार बिहान एक कार्यक्रमका बीच कात्तिक ११ गते निर्वाचित समाजका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
कोरोना संक्रमणको समयमा गठित अभियानले अघि सारेको सामाजिक कार्यमा समाजको सहकार्य रहेको थियो । अभियानमा साथ दिएको समाजले कोरोना संक्रमणबाट झापाका नागरिक पीडित भएको समयमा पुर्याएको योगदानको मुल्यांकन गर्दै समाजलाई सम्मान गरिएको हो ।
समाज र अभियानको सहकार्यमा कनकाई स्थित कोटीहोममा पीसीआर ल्याब स्थापना गरिएको थियो । त्यसैगरी अक्सिजन बैंक र प्लाज्मा बैंक स्थापनासंगै विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण खरीद गरेर हस्तान्तरण गरिएको थियो ।
एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगाना लगायतका पदाधिकारीलाई स्वागत सम्मान गरियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढुंगानाले कोरोना महामारीका बेला एक लागि एक अभियान गरिएको सहकार्य सुखद् र उपलब्धिमूलक रहेको बताए ।
उनले विश्वभरि छरिएर रहेका झापालीले झापाको विकासका लागि सक्दो काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् । उनले अभियानसँग निरन्तर सहकार्य गर्दै अघि बढ्नेसमेत प्रतिबद्धता जनाए ।
अभियानका संयोजक महेन्द्र गिरीले त्यस समयमा ४ करोड रुपैयाँ संकलन भएको बताए । उनले अहिले पनि अभियानसँग ८० लाख रुपैया बचत रहेको जानकारी दिंदै अब त्यो रकमले अक्षयकोष बनाएर बिपतको समयमा सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए ।
संसारभर रहेका झापालीहरुलाई झापाको उत्पादन प्रयोग गरिदिन समेत उनले आग्रह गरे । बजारिकरणको अभाबले उत्पादन खेर गइरहेको भन्दै उनले उत्पादित बस्तुको खपद बढाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
गिरीले बिदेशी लगानी भित्रयाउन अभियानका सदस्यहरुको अग्रसरतामा योजना अघि सारेको भन्दै त्यसमा सहभागी हुन अन्तर्राष्ट्रिय झापाली समाजका पदाधिकारीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा समाजका संरक्षक एवम् पूर्व अध्यक्ष दिनेशकुमार पोखरेलले निरन्तरको प्रयासपछि आफूहरु जन्मे–हुर्केको झापाको विकासका समाज गठन गरिएको बताए ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई र चेम्बर अफ कमर्स कोशी प्रदेश उपाध्यक्ष सन्तोष अग्रवालले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै झापाको सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान उच्च रहेको बताए ।
कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानले गरेका कामको जानकारी दिँदै सबैका सहयोगले अभियान सफल भए पनि अन्तर्राष्ट्रिय झापाली समाजको योगदान महत्पूर्ण रहेको बताए । कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभियानकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।