बिर्तामोड । झापालगायत जिल्लाका बजारमा भारतीय सयपत्री फूल अत्यधिक आउने गरेकोमा सरकारले सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा प्रतिबन्ध लगाएको हो । झापाको बाहुनडाँगी, बिर्तामोड, कमल, बाह्रदशी लगायतका क्षेत्रमा सयपत्री फूलको सामुहिक खेती हुँदै आएको छ ।
पुष्प विकास केन्द्रले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्नसक्ने भएकाले कात्तिक १ गतेदेखि नै लागु गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ । तिहारमा अत्यधिक मात्रामा सयपत्री फूलको मालाको माग हुन्छ ।
यसवर्ष स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकोले भारतीय सयपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस जारी गर्ने कार्य बन्द गरिएको पुष्प विकास केन्द्रको जारी सूचनामा उल्लेख छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
झापाका विभिन्न पालिकामा चाडपर्वलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गर्ने गरिएको छ ।
मेचीनगर, भद्रपुर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक बिघा जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलखेती लगाएका छन् । तिहारमा मात्र पूर्वीनाका काँकरभिट्टाबाट विगतमा ६० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूलको माला आयात हुने गरेको छ ।