मेचीनगर : मेचीनगर निवासी सामाजिक ब्यक्तित्व राजन चिमरियाले गत बर्ष झैं यो बर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् ।
नेपाल डेरी एसोसिएशनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष, रितिका डेरी उद्योगका सञ्चालक तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्ष समेत रहेका चिमरियाले शहिद परिवारलाई एउटा गाई र दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।
चिमरियाले बिहीवार (आज) पर्न गएको जन्मोत्सवका अवसरमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएको शहिद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई प्रदान गरेका हुन् ।
उनले शहिद उप्रेतीका पिता गंगा उप्रेतीलाई उक्त गाई प्रदान गरेका हुन् । त्यस्तै चिमरीयाले बिरामी रहेका गंगालाई औषधि उपचारकालागि नगद ५ हजार एकसय रुपैयाँ प्रदान गरेका छन् । शहिद प्रेम उप्रेतीको २०५८ सालमा तेह«थुमको बगाले घटनामा मृत्यु भएको थियो । उनी जनमुक्ति सेना रहेका थिए ।
शहिद परिवारलाई पशुपालनको क्षेत्रमा जोड्न तथा कृषि उत्पादनमा जोड्ने उदेश्यले जन्मोत्सवमा गाई प्रदान गरेको जानकारी दिए ।
त्यस्तै जन्मोत्सवकै अवसरमा चिमरियाले गत कार्तिक १० गते दुर्घटनामा परेर मृत्यु भएका नरेश राजवंशीको परिवारलाई समेत आर्थिक सहयोग गरेका छन् ।
मृतक नरेशकी छोरी नाइसा राजवंशीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले बालिका संरक्षित कोषका लागि ५१ हजार र काजक्रिया खर्चबापत ५ हजार एकसय रुपैयाँ चिमरियाले आर्थिक सहयोग गरेका हुन् ।
संरक्षित कोषको लागि ५१ हजार रुपैयाँको चेक र नगद ५ हजार एकसय रुपैयाँ नरेशकी श्रीमती बिमला र छोरी नाइसा राजवंशीसहित परिवारलाई प्रदान गरेका छन् । चिमरियाले त्यहाँ पनि उद्योगबाट उत्पादित दुग्ध सामाग्रीसमेत प्रदान गरेका छन् ।
चिमरियाले प्रत्येक बर्ष आफ्नो जन्मोत्सव र बैवाहिक बर्ष गाठका अवसर पारेर फरक–फरक बिषयमा केन्द्रित रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनले ३० बर्षको उमेरदेखि प्रत्येक बर्ष जन्मोत्सव र बैवाहिक बर्षगाठमा कृषक, बिपन्न, आगलागि पिडीत, वाढीपिडीतलगायतलाई सहयोग गरेर आफ्नो जन्मोत्सव र बैवाहिक बर्षगाठ मनाउँदै आएका छन् ।