शनिश्चरे । झापाको अर्जुनधाराबाट हात्तीको बङ्गारासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति ८ः३० बजे अर्जुनधारा नगरपालिका ७ जरुवा टोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जरुवाटोल निवासी ४७ वर्षीय तिखबहादुर विश्वकर्माको घरमा हात्तीको बङ्गारा लुकाईछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनको घरकोठामा खानतलासी गरेको थियो ।
किराना पसल सञ्चालन गरेका विश्वकर्माको पसलमा लुकाईछिपाई राखेको हात्तीको बङ्गाराजस्तो देखिने ७ इन्च लम्बाई, १२ इन्च गोलाई र १ केजी ७९० ग्राम तौल भएको बस्तु प्रहरीले फेला पारेको थियो ।
विश्वकर्मालाई सोधपुछ गर्दा उनले सीही ठाउँ बस्ने ५० वर्षीय सावा लिम्बूको घरबाट ल्याइराखेको बताएका प्रहरीले जनाएको छ । उक्त बस्तु र लिम्बूसमेतलाई नियन्त्रणमा लिई दुवैलाई आवश्यक कार्वाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।