झापा । नेपाल टी २० विश्वकपमा छनोट भएको छ । नेपालले शुक्रबार यूएईविरुद्धको विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेलमा ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको हो । १३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए ।
आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेल २ चौका प्रहार गरी ८ रन बनाई आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए । विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १०७ रनको लक्ष्य ओमानले १४।१ ओभरमै पूरा गरेको थियो ।
नेपालले दशकपछि ट्वान्टी(२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् । मूलपानी क्रिकेट मैदानमा यसअघि यूएईले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गर्दै १३४र९ को स्कोरमा रोकियो ।
चोटका वावजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे ।
अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।
उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।
ट्वान्टी(२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।