काठमाडौं ।
गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताएका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।