काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि गएका हुन् । 

प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाएका छन् ।

घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको जनाइएको छ ।  प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गरेका छन् ।

गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।