झापाको कन्काई नगरपालिकास्थित माईखोलाको किनारमा आउँदो बिहीबारदेखि विश्वशान्ति विराट महायज्ञ हुने भएको छ ।

विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोटलगायत जिल्लामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामना गर्दै ओम आदि फाउन्डेसनले २३, २४ र २५ गते गरी तीनदिने महायज्ञ महाअनुष्ठान गर्न लागेको फाउण्डेशनका राजेन्द्र राउतले जानकारी दिए । 

यसका लागि माईखोलाको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्डसहितका संरचना तयार पारिँदै छ ।  यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना बनाएअनुसार यो १७ औं महाअनुष्ठान भएको ओम आदि फाउन्डेसनका राउतको भनाई छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष तथा कार्यक्रमका सह संयोजक समेत रहेका राजेन्द्र राउतका अनुसार महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्नेछन् ।

यता यो महायज्ञले कन्काईको धार्मिक पहिचानलाई अझ माथि पु¥याउने कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका  अध्यक्ष शेरबहादुर थापाले बताए । उनले पनि आफूहरुको तर्फबाट सहयोग भइरहेको जानकारी दिए ।