मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्र भित्र निर्माणधिन विकास योजनाहरू मापदण्ड अनुसार समयमा नै सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

नगरप्रमुख बुढाथोकीले मंगलबार पुर्वाधार विकास कार्यालय झापाका प्रमुख डिइ रमेश श्रेष्ठसहितको टोलीलाई कार्यालयमा नै बोलाएर निर्माणाधीन राइसिङ पुल, भद्रपुरदेखि इटाभट्टा हुँदै बौद्ध मोड र निन्दा सिरानसम्मको कालोपत्रे सडक, भद्रपुरदेखि धुलाबारी हुँदै इरौटारसम्मको बाँकी रहेको कालोपत्रे सडक निर्माण समयमै सम्पन्न गरि जनतालाई आवतजावतमा सहजता प्रदान गर्न सुझाएका हुन् ।


मेचीनगर क्षेत्रको महत्त्वपूर्ण विकास योजना अन्तर्गत रहेका राइसिङ खोलाको पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ भने, भद्रपुरदेखि इटाभट्टा हुँदै बौद्ध मोड र निन्दा सिरान तथा भद्रपुरदेखि धुलाबारी हुँदै इरौटारसम्मको बाँकी रहेको कालोपत्रे सडक पनि समयमा नै सकिनुपर्ने नगरप्रमुख बुढाथोकीले बताएका छन् । यता पुर्वाधार विकास कार्यालय झापाका प्रमुख डिइ श्रेष्ठले निर्माणाधीन सडकहरु पनि भदौसम्ममा सकिने लक्ष्य सहित धमाधम काम गरिरहेको बताए ।

उक्त कार्यक्रममा नगरप्रमुख बुढाथोकी ,मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर कार्यापालिका सदस्य तथा पुर्वाधार विकास संयोजक चित्र धिमाल,  पुर्वाधार विकास कार्यालय झापाका इन्जिनियर उत्तम खरेल, सबइन्जिनियर सुरेन्द्र शाह,पुर्वाधार विज्ञ प्रदुम्न पोख्रेललगायतको सहभागिता रहेको थियो ।