बिर्तामोड : झापाको मेचीनगरमा मुख्य  कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले  ३१ औं साधारणसभा मंसिर १६ गते हुने जनाएको  छ । (एनएमसी) ले आज बुधबार बिर्तामोड सेवा केन्द्रमा बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो । 

मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए ।

 साथै उनले बचत तथा ऋण कारोबारसँगै संस्थाले डेरी , एनएमसी एग्रो फर्म, सहकारी पसल , चिया ब्यवसाय सञ्चालन गरिरहेको जानकारी दिए । 

संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण संस्थालाई केहि असर पुगेको बताए । साथै उनले सहकारीको मूल्य र मान्यता बमोजिम सहकारी संस्था चल्नुपर्नेमा उल्लेख गरे । 

संस्थाको आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म सेयर पुँजी १ अर्ब ४० करोड ५ लाख १६ हजार ६ सय रुपैयाँ रहेको छ । संस्थागत पुँजी ७६ करोड ९ लाख २७ हजार ६५९, कूल प्राथमिक पुँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रहेको छ ।

संस्थाले सोही अवधिमा ९ अर्ब ४० करोड ७४ लाख १३ हजार २१८ रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ ।