झापा — झापा बिर्तामोडका सन्दीप -परिवर्तित नाम= दैनिकजसो भारतीय लट्री चिट्ठा खेल्छन् । विगतमा उनी भारतको पानीटंकी पुगेर चिट्ठा टिकट खरिद गरी आउँथे । अहिले दलालले घरमै उनलाई चिट्ठा पुर्याइदिन्छन् । ‘दिनहुँ काटिरहन्छु तर अहिलेसम्म परेको अनुभव छैन,’ उनले भने, ‘मलाई त चिट्ठाको लतै बसिसक्यो ।’ ५ वर्षयता केही लाख रुपैयाँ चिट्ठामा सिध्याएको तीतो अनुभव उनीसँग छ । भने, ‘परी पो हाल्छ कि भनेर काट्यो, पर्दैन ।’
झापाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय भारतीय चिट्ठाको दलदलमा फसेका छन् । सीमा सहर काँकडभिट्टा र भद्रपुर चिट्ठाका ‘अखडा’ झैं बनेका छन् । वर्षौंदेखि खुलेआम रूपमा चिट्ठाको अवैध धन्धा फस्टाइरहेको छ । तर, प्रहरी प्रशासन ‘आँखा चिम्लिन’ बाध्य छ । एक चिट्ठा दलालका अनुसार नेपालमा कारोबार गर्न प्रहरीसँग ‘सेटिङ’ गरिएको छ ।
तर, प्रहरीले भने चिट्ठाको कारोबार गर्न नमिल्ने भन्दै यसको बिक्रीवितरणमा कडाइ गरिएको जनाएको छ । झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले भने, ‘अवैध कारोबारमा प्रहरीको कुनै हालतमा संलग्नता हुन्न । चिट्ठा कारोबारीलाई प्रमाणसहित फेला पारेमा पक्राउ गर्नेछौं ।’
भारतमा चिट्ठालाई सरकारले वैधानिकता दिएको छ । मिजोरम, नागाल्यान्ड, सिक्किम आदि भारतीय राज्य र भुटानमा समेत यो सरकारद्वारा नै सञ्चालित छ ।
तर, नेपालमा यो अवैध मानिन्छ । अवैध भए पनि सीमावर्ती नेपाली भूमिमा चिट्ठा भित्रभित्रै चलिरहेको छ । जसको कुलतमा फसेका नेपालीले दैनिक लाखौं गुमाइरहेका छन् ।
चिट्ठा खेल्ने नेपालीहरूका अनुसार दिनमा तीन चार पटक चिट्ठा खुलाइन्छ । प्रत्येक दिन बिहान ११ बजे दिउँसो १ बजे, अपराह्न ४ बजे र राति ८ बजे खुल्ने चिट्ठाको परिणाम तत्कालै आउँछ । यसरी तत्कालै रकम हाल्ने र तत्कालै धनी बन्ने सपना देख्नेहरूको कमी छैन ।
भारतसँग खुला सीमा जोडिएका काँकडभिट्टा र भद्रपुरसहित धुलाबारी, बिर्तामोडसम्मका स्थानीयवासी चिट्ठाको लतमा फसेको देखिन्छ । यस्तो लतमा लागेकाहरूलाई चिट्ठा कटाउन भारतबाट खुलेआम भारतीय व्यापारी घरघरै आइपुग्छन् । चिट्ठा बिक्रीमा आधा दर्जन बढी दलालहरू संलग्न देखिन्छन् । यस्ता दलालहरूले सीमावर्ती नेपाली भूमिमा चिट्ठा बेचेर दैनिक लाखौं रुपैयाँ लिएर जान्छन् ।
दलालहरूले लाखौं रुपैयाँ जित्ने भन्दै झूटो आश्वासन बाँडेर सर्वसाधारणलाई प्रभावमा पार्ने गर्छन् । चिट्ठा टिकटको मूल्य न्यूनतम भारु ५० देखि अधिकतम साढे ४ सयसम्म छ ।
आक्कलझुक्कल कसै–कसैले थोरै रकम जितेको कुरालाई भजाउँदै दलालहरूले आश्वासन बाँडेर चिट्ठा बिक्री गरिरहेको देखिन्छ । कम्तीमा १ हजार भारुदेखि अढाइ करोड भारुसम्म नगद जितिने लोभमा व्यवसायी, विभिन्न कार्यालयका कर्मचारी तथा सर्वसाधारण भारतीय चिट्ठाको लतमा फसिरहेको देखिन्छ ।
चिट्ठाको लतमा लागेका केहीसँगको अनौपचारिक कुराकानीमा चिट्ठाबाट दैनिक १० लाख बढी नेपाली रुपैयाँ बाहिरिने गरेको अनुमान गर्न सकिन्छ । चिट्ठा बेच्दै गर्दा काँकडभिट्टामा भेटिएका एक दलालले दैनिक हजारौंको चिट्ठा बिक्री गर्ने गरेको सुनाउँदै भने, ‘म मात्रै दिनमा १० हजारबढीको बिक्री गर्छु । अरूले त अझ बढी बेच्छन् ।’
कतिपयले घर, जमिनसमेत डुबाइसकेका उदाहरण पनि छन् । ‘आज पो पर्ला कि भन्दै खेल्यो कहिल्यै पर्दैन,’ स्थानीय हरिनारायण चौधरीले भने, ‘लट्रीले धेरैको जहाज डुबिसक्यो ।’ ekantipur.com/news bata