काठमाडौं । मुगुमा एकै परिवारका ४ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

छायाँनाथ रारा नगरपालिका ६ मन्दुगाउँमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मुगुले शुक्रबार सार्वजनिक गरेको हो ।

श्रीदेवी बोहरा र उहाँका तीन जना छोराछोरीको हत्या गरेको आरोपमा पक्राउ परेका छायानाथ रारा ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहरालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

प्रहरीले शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट आज नियन्त्रणमा लिएको थियो । सो हत्याकाण्डका योजनाकार गोपाल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक श्रीदेवी बोहराका श्रीमान् दीपक बोहराले कतारस्थित कम्पनीबाट आफूलाई भिसा नपठाइदिएपछि गोपालले दीपककी श्रीमती र छोराछोरीको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कात्तिक १० गते छायानाथ रारा(६ मन्दुकी २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज, ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव हत्या गरेको अवस्थामा भेटिएको थियो ।

उनीहरुको कात्तिक ८ गते नै हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।  हत्याराले श्रीदेवीसँग भएको एउटा मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी समेत लुटपाट गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले स्थानीय प्रहरीसँग मिलेर घटनाको दुई सातापछि उनीहरुलाई पक्रन सफल भएको हो ।

उनीहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । विदेशमा रहेका दीपक परिवारको हत्या भएलगत्तै स्वदेश फर्किएका थिए ।sunrisekhabar.com bata