झापा

 प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको बेचबिखनमा संलग्न १ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापा शिवसताक्षी नगरपालिका वडा नं १ बस्ने ३० वर्षीय दिपेन भन्ने विपिन चेम्जोङलाई पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतबाट अनुमति लिई आज बुधबार  दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं  ४ शान्तिपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गत असोज ८ गते शिवसताक्षी नगरपालिका वडा नं ११ दुधे बजारमा रहेको साकिरा यातायात प्रा लि बस काउन्टरबाट चामलको बोराभित्र लुकाई छिपाई ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर काठमाण्डौ पठाउन लाग्दा वडा नं १ बस्ने अन्दाजी २९ वर्षिय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षिय सुन्दर लावती पक्राउ परेका थिए ।

ती प्रतिवादीहरुको बयानको आधारमा चेम्जोङ पक्राउ परेका हुन् । ब्राउनसुगर खरिद गर्न चेम्जोङले पैसा पठाईदिएको र काठमाण्डौमा उनलाई नै पठाउन लागेको उनीहरुले बयान दिएका थिए ।