झापाको भद्रपुर ४ स्थित मन्त्रिचोकमा रहेको निताई आयुर्वेद उपचार केन्द्रले  एक बालकको उपचारमा लापरवाही गरेको उनका आफन्तले आरोप लगाएका छन् । 

बाह्रदशी गाउंपालिका २ कुटुबस्ती राजगढका १० बर्षिय सुमन हेमरनको हातको उपचारमा निताईले लापरवाही गरेको उनका आफन्तले जनाएका छन् ।  

निताईले हेमरनको उपचारमा लापरवाही गरेको उनका मामा शिबचरण मुर्मुले बताए । हेमरन स्थानीय पशुपती मा.वि.मा कक्षा ३ मा पढ्छन् । 

गत कात्तिक ८ गते घरमै लडेका हेमरनलाई उपचारकालागि कात्तिक ९ गते निताईमा उपचारकालागि लगिएको थियो । 

उपचार केन्द्रका सञ्चालक निताई राजवंशीका छोरा ख्यामचन राजवंशीले हेमरनको हातमा प्लाष्टर गरेर केहि औषधि दिएर पठाएका थिए । 

‘त्यसको २ दिनपछि हेमरनलाई पुःन लिएर आउनु भनेका थिए , उनका मामा मुर्मु भन्छन्, तर प्लाष्टर गरेको दिनदेखि नै हात्त सुनियो र भान्जालाई एकदमै पीडा भयो । ’

उनले निताईमा नै उपचार हुने भन्दै झुलाएको पशुपती मा.वि.का शिक्षक रणकुमार राजवंशीले बताए ।  निताईको लापरवाहिका कारण बालकको हातमा गम्भीर समस्या भएको उनले बताए । हाल बिरामी बालक हेमरनको बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । 

उनको शल्क्रिया भएको जनाइएको छ । विपन्न  हेमरनको बुबा छैनन् । उनको आमा मात्र रहेको जनाइएको छ । उपचारमा संमलग्न हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ 

डा. सन्दिप अधिकारीका अनुसार बालक अस्पताल आउंदा  हड्डी पाकेर पीप आइरहेको थियो । उनले भने, हड्डी पनि भांचिएको थियो , अहिले एक साता भयो अप्रेशन गरेको सुधार भइरहेको छ । उनले पूर्ण रुपमा ठिक हुन समय लाग्ने बताए । अलि ढिलो गरी उपचारमा आएकाले समस्या निम्तीएको डा. अधिकारीको भनाई छ । 

यता यस बिषयमा निताई आयुर्वेद उपचार केन्द्रका सञ्चालक ख्यामचन राजवंशीसंग बुझ्दा उनले उपचारमा लापरवाही नगरिएको दाबी गरे ।  पछिल्लो समय निताईको बदमासी र लापरवाहीका कारण धेरै जनाको हात्त बिग्रीएको छ । केहि समय अघि मात्र पनि एक जना ब्यक्तिको निताईको लापरवाहीका कारण हातै काट्नु परेको थियो ।