पुर्वराजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडमा  आउने भएका छन् । मंसीर ९ गते शनिवार बिर्तामोड १ मा रहेको  इस्र्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (इकम कलेज) परिसरमा निमार्ण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह झापा आउन लागेका हुन् ।

८ बर्षदेखि सञ्चालनमा रहेको ईकोमले पृथ्वीनारायण शाहको शालिक निमार्ण गरे पनि अनावरण गर्न सकेको थिएन ।  

सोहि शालिक अनावरण संगै कलेजको बिधिवत उद्घाटनमा सहभागिकालागि शाह आउने निश्चय भएको कलेजका प्रबन्ध निर्देशक आलोक कार्कीले बुधबार आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । 

उनले पृथ्वीनारायणको  शालिक उनकै बंशबाट  अनावरण गर्न उपयुक्त  हुने भएकाले ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरिएको  बताए । 

ज्ञानेन्द्र शाह झापा आउने भएपछि राप्रपाले उपस्थितिका लागि राजावादीसँग आह्वान समेत गरिसकेको छ ।  कलेज प्रशासनले भने शाहको शालिक अनावरण कार्यक्रमलाई लिएर अनावश्यक राजनीतिकरण नगर्न अनुरोध गरेको छ । कार्कीले कलेज हाताभित्र राजनीतिक दलका गतिविधिलाई बढावा दिनेगरी कार्यक्रम गर्न रोक लगाउंदै बाहिर जे जे भए पनि कलेजमा भने राजनीति नगर्न राप्रपालाई आग्रह गरेको छ ।  

नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता रहेका  पृथ्वीनारायण शाहको योगदान अतुलनिय रहेकै कारण उनको शालिक स्थापना गरिएको कार्कीको भनाई छ । 

नेपाल एकिकरणमा शाहले गरेको योगदानलाई अहिलेका पुस्ताले बिर्सिन सक्ने अवस्था सृजना भएको भन्दै उनको योगदानलाई जिबन्त राख्न पनि कलेजमा शालिक निर्माण गरिएको कलेजका सञ्चालक निर्मल निरौलाले प्रस्ट पारे ।