बिर्तामोड । प्याब्सन बिर्तामोड नगरको  आयोजनामा बिर्तामोडमा दुईदिने सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।  निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तरगत  नगर प्याब्सनले बिर्तामोडस्थित कोहेड कलेजमा आज बुधवार बाट शुरु गरेको  नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० भोली बिहिबार सम्पन्न हुने जनाइएको छ । 

दुई दिवसीय कार्यक्रम अन्तर्गत प्राथमिक तह र निम्न माध्यमिक तह अन्तगत आज पहिलो दिन विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेको प्याब्सन नगर अध्यक्ष उत्तम खनालले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईले पानसमा बत्ती बालेर गरेकी थिइन ।  

आज सम्पन्न कक्षा १देखि ५ सम्मको  आधुनिक गीत नृत्यमा बेल्स मोडेल इङ्गलिस स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल द्वितीय र कन्चन इङ्गलिस स्कुल तृतीय भएको उनले बताए । 

अध्यक्ष खनालका अनुसार विजयी विद्यालयले ट्रफी र विद्यार्थीले मेडल प्राप्त गरेका छन् । 

 प्रतियोगितामा विजयी विद्यार्थीहरुले पुष १ र २ गते दमकमा हुने जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन बिर्तामोड नगर सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।

प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए । 

उद्घाटन  कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्युटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सिना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल, चेम्बरर्स अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमली, उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै भोली बिहीवार हुने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्ष माथिका बालबालिकाको गायन प्रस्तुती रहनेछ । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृति नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता हुने नगर सह–सचिव हुमागाईले जानकारी दिए । 

प्रतियोगिताको निर्यायक मण्डलीमा सुमन योगी, मनिष कटुवाल र प्रनिसा उदास रहेका छन् ।