झापा : झापाको मेचीनगर नगरपालिका– ७ बाट सीमा स्तम्भ मर्मत अनुगमन तथा रंगरोगन गर्ने कार्य सुरु गरिएको छ ।  आज सोमबार बिहान एक कार्यक्रमकाबिच नेपाल तथा भारतका सुरक्षा संयन्त्रको सहभागितामा  सिमा स्तम्भहरुको अनुगमन र मर्मत सम्भार सुरु गरिएको हो ।

झापाको मेचीनगर–७ मा रहेको सहायक सीमा स्तम्भ ९१÷१ पिपि ५५ मा सशस्त्र प्रहरी बलको नम्बर १ बाहिनी मुख्यालय पकलीका बाहिनीपति डीआईजी अन्जनीकुमार पोखरेल, नेपाल प्रहरीका कोशी प्रदेश डीआईजी राजेशनाथ बाँस्तोला र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को , राष्ट्रिय अनुसन्धान निर्देशक किशोर कुमार श्रेष्ठको संयुक्त उपस्थितिमा सीमा स्तम्भ अनुगमन तथा मर्मत कार्य शुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी देवराज अर्यालले जानकारी दिए । 


WhatsApp Image 2023-12-03 at 23.07.00एसएसबीका तर्फबाट कमान्डेन्ट नवीनकुमार राईको उपस्थिती थियो । यो अभियान अन्तर्गत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन गर्नुका साथै हराएका सीमा स्तम्भको पहिचान गरेर सीमा स्तम्भ पुनर्निर्माण समेत गरिने बाहिनीपति पोखरेलले जानकारी दिए ।  देशैभर सशस्त्र प्रहरी बलले सीमा मर्मत सम्भार सुरु गरेको छ ।

WhatsApp Image 2023-12-03 at 23.06.58

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम अहिले मर्मतको कार्य भइरहेको हो । 

नेपाल– भारत सीमाअन्तर्गत झापाको १४४.०२ किलोमिटर खुला सीमामा साना ठुलागरी ९९५ स्तम्भ रहेकोमा ३१७ वटा मर्मत गर्नु पर्ने अवस्थामा रहेको एसपी अर्यालको भनाई छ ।  बिजोर नम्बरको स्तम्भ नेपालको तर्फबाट मर्मत गरिने जनाइएको छ ।

कार्यक्रममा झापाका सहायक प्रजिअ विश्वराज नेपाललगायत सुरक्षा संरयन्त्रको बाक्लो  उपस्थिति रहेको थियो ।