बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालित अनलाइन सञ्चारमाध्यमका सञ्चालकहरुले पालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिर्तामोडको सञ्चार नीतिमा विभेद भएको भन्दै उनीहरुले सोमवार आज नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
प्रविधिको विकास र इन्टरनेटमा अधिकांश मानिसको पहुँचका कारण पाठकले हातमै विश्वको सूचना र समाचार पढन, हेर्न र सुन्न चाहने भएका कारण अनलाइन सञ्चारमाध्यमको लोकप्रियता बढिरहेको अवस्थामा बिर्तामोडले भने अनलाइन सञ्चारमाध्यमलाई विभेद गरेको उनीहरुको ठहर छ ।
‘अनलाईन सञ्चारमाध्यमको बढ्दो लोकप्रियता र आवश्यकता भइरहेको परिवेशमा बिर्तामोड नगरपालिकाले अनलाईन सञ्चारमाध्यममाथि गरेको व्यवहार विभेदपूर्ण भएको हामीले महशुस गरेका छौँ । छिमेकी पालिकाहरुले अपनाएको नीति र यस पालिकाको नीतिमा उल्लेख्य फरक पाइएको छ । तसर्थ बिर्तामोड नगरपालिकाले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको भुक्तानीमा अनलाईन सञ्चारमाध्यमलाई समेत अन्य सञ्चारमाध्यम सरह भुक्तानी गर्नका लागि ध्यानाकर्षण गराउँदै हामी जोडदार माग गर्दछौँ ।
अन्य सञ्चारसंस्थाहरु सरह कानुन बमोजिम व्यवसाय दर्ता, नविकरण शुल्क भुक्तानीमा हामी प्रतिबद्ध रहेको जानकारीका गराउँदै अनलाईन सञ्चारमाध्यमलाई समेत समान व्यवहार गरी यसमा कार्यरत पत्रकार तथा कर्मचारीको मनोबल बढाउन सविनम्र आग्रह र अनुरोध गर्दछौँ’– ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
बिर्तामोड क्षेत्रभित्र रहेका १८ वटा अनलाईन सञ्चारमाध्यमका सञ्चालक÷सम्पादकहरुले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बिर्तामोड नगरपालिकाले पालिकामा व्यवसाय दर्ता गरी सूचिकरण गराएका सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ । तर त्यसबापत गर्ने भुक्तानीमा अन्य सञ्चारमाध्यमको तुलानामा अनलाइन सञ्चारमाध्यमलाई अत्यन्त कम भुक्तानी दिने गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख प्रसाईले सबै सञ्चारमाध्यमलाई समान रुपमा समेटेर लैजाने बताइन् । लोककल्याणकारी विज्ञापनबापतको भुक्तानीमा फरक रहेको बिषय जानकारी भएकाले बजेटको आकार हेरेर सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको जनाइन् ।